
काठमाण्डू, २९ चैत– आफू प्रमुख अतिथि रहेको कार्यक्रममा नबसेको भन्दै ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले मन्त्रालयका सचिव सुरेश आचार्यलाई स्पष्टीकरण सोधेका छन् ।
गत चैत २५ मा ललितपुरको जावलाखेलस्थित सिंचाई विभागमा आयोजित सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सव कार्यक्रम बहिस्कार गरेको भन्दै तामाङले सचिव आचार्यसँग २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।
आचार्यले पदीय आचरणविपरीत कार्य गरेकाले किन कारबाही नगर्ने भन्ने प्रश्न तामाङको छ । ऊर्जामन्त्री दीपक खड्का प्रमुख अतिथि हुने तय भएको कार्यक्रममा सचिव आचार्य पनि उपस्थित थिए ।
तर, अन्तिम समयमा मन्त्री खड्का नआउने भएपछि राज्यमन्त्री तामाङलाई नै विभागले प्रमुख अतिथि बनाएको थियो । तामाङ प्रमुख अतिथि हुने कार्यक्रमको मञ्चमा आफू नबस्ने भन्दै आचार्य हिंडेका थिए ।
कार्यक्रम सञ्चालकले आसनग्रहणका लागि पटकपटक बोलाउँदासमेत मञ्चमा नगएको तथा विभागका महानिर्देशक संजिव बराललेसमेत आसन ग्रहणका लागि आग्रह राज्यमन्त्री सहभागी कार्यक्रममा आफू नबस्ने तुच्छ अभिव्यक्ति दिएर सचिव आचार्य हिंडेको आरोप तामाङको छ ।
सचिव आचार्यले पदीय आचरणसमेत ख्याल गर्न नसकेको, पदीय आचरण र मर्यादाको धज्जी उडाएको भन्दै तामाङले सचिव आचार्यको व्यवहारले मन्त्रालयको प्रतिष्ठा र कार्यपद्धतिमा असर पुर्याएको आरोप राज्यमन्त्री तामाङले लगाएका छन् ।
। ‘राज्यमन्त्री सहभागी कार्यक्रम बहिष्कार गर्ने तपाईँलाई अनुशासनको कारबाही किन गर्नु नपर्ने ? तपाईँले कसको प्रभाव वा पूर्वाग्रही भावनाले विभागीय मन्त्रीको अपहेलना गर्ने उद्देश्यले कार्यक्रम बहिष्कार गर्नुभएको हो ?’, स्पष्टीकरण पत्रमा भनिएको छ ।