
काठमाण्डू, २९ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएको छ । आज (शुक्रबार) प्रतिनिधि सभा अन्तरगतको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले यस्तो बताएका हुन ।
नेता प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप समेत लगाएका छन । आजको बैठकमा राप्रपा सांसद प्रधानले भने, ‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’
यही चैत १५ गते काठमाण्डूको तीनकुनेमा भएको राजवादीको प्रदर्शनको क्रममा दुई जनाको ज्यान गएको थियो भने तोडफोड र आगजनीबाट निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको थियो । सोही दिन प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधरहरुले गरेको प्रदर्शन सभ्य थियो । राजावादीहरुले गरेको प्रदर्शन भने तनावपूर्ण भएको थियो ।
राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो । यो ठिक र त्यो बेठीक भन्न खोजियो । प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो ?’
प्रधानले प्रश्न गर्दै भने । पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ ।
अन्तिमसम्म ७र८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै गर्यो ।’उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’