
काठमाण्डू, २९ चैत– गत १५ चैतमा काठमाण्डूको तीनकुने क्षेत्रमा भएको राजावादी समुहको प्रदर्शनका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई म्याद थपका लागि जिल्ला अदालत काठमाण्डूमा उपस्थित गराइएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयबाट उनलाई केहीबेर अघि मात्रै अदालत लगिएको छ । प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको छ ।
उनीसँगै पक्राउ परेका बडिगार्ड दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न प्रहरीले माग गरेको छ । यसअघि गत २६ चैतमा सोही प्रदर्शनमा पक्राउ परेका राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको थियो ।
उनीहरूसँगै म्याद मिलान गर्नका लागि १२ दिनको म्याद थप गर्नका लागि समय मागिएको प्रहरी स्रोतले जानकारी दिएको छ । भारतबाट पक्राउ परेका प्रसाईंलाई केहीबेरअघि जिल्ला प्रहरी परिसर काठमाण्डू ल्याइएको थियो ।
त्यहाँ आवश्यक कागजात मिलाएर प्रसाईंलाई अहिले सरकारी वकिलको कार्यालय लगिएको हो । सरकारी वकिलको कार्यालयबाट प्रसाईंलाई केहीबेरमा जिल्ला अदालत काठमाण्डू लगिनेछ । उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ । ज्यान मार्ने उद्योग लगायतका कसुरमा उनीविरुद्ध मुद्दा चलाउने तयारी रहेको प्रहरी स्रोतले बताएको छ ।