शिक्षक आन्दोलनलाई प्रधानमन्त्रीको जवाफः आफ्नो हित मात्रै हेरेर समस्या समाधान हुँदैन

काठमाण्डु टुडे २०८१ चैत २८ गते १६:५८ मा प्रकाशित

काठमाण्डू, २९ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूले आफ्नो मात्र हित हरेको भन्दै यसले समाधान नदिने बताएका छन । आज (शुक्रबार) एमालेले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले वार्ताका लागि सरकारले बोलाइसकेकाले शिक्षकहरू सडकमा गएर प्रदर्शन गर्नु नपर्ने पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘समस्याहरू छन्, तर सडक प्रदर्शनमा जानु पर्थेन,’ ओलीले भने, ‘शिक्षकहरूले आफ्नो हित मात्रै हेरेर हुन्न, राष्ट्रको हित र आर्थिक अवस्था पनि हेर्नुपर्छ, भावनामा बगेर समाधान हुँदैन ।’

प्रधानमन्त्रीले उपयुक्त शिक्षा ऐन छिटै ल्याउने पनि बताएका छन । उनले अस्थिरता दोहोरिन नदिन र देश बनाउन कांग्रेस र एमाले मिलेर सरकार बनाएको दावी गरेका ओलीले वर्तमान सरकार कसैले चाहँदैन नढल्ने पनि बताएका छन ।प्रधानमन्त्री ओलीले आफू र नेकपा एमालेलाई बद्नाम गर्न सामाजिक सञ्जालमार्फत अफवाह फैलाइएको दावी गर्दै त्यस्ता भ्रम तोड्न सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिए । उनले सबै अफवाहहरूको जवाफ मिसन ८४ ले दिने दावी गरे ।

उनले भने, ‘अफवाह फैलाउन लेख्ने, प्रचार गर्ने, नक्कली भिडियो बनाउने, एआईको प्रयोग गरेर बद्नाम गर्ने प्रयास भइरहेको छ,’ ओलीले भने, ‘अलोकप्रिय भयो भनेर कुप्रचार र हल्ला गरेका छन्, यी सबै विषयमा अहिले धेरै बोल्न चाहन्न, सबै कुराको जवाफ मिसन ८४ ले दिन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us