
काठमाण्डू, २९ चैत– पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार कुनै पनि बेला परिवर्तन हुन सक्ने दाबी गरेका छन । पत्रकार जगदिश खरेलसँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन ।
अध्यक्ष प्रचण्डले भनेका छन, ‘समय त म अहिले तोक्न चाहन्नँ, समय तोक्न उचित पनि हुँदैन। तर, कुनै पनि बेला सरकार परिवर्तन हुन सक्छ। केपी ओलीजीले एक वर्षे कार्यकाल पूरा गर्नुहुन्छ जस्तो लाग्दैन ।’
सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने भनाइ दाहालको छ। पत्रकार खरेलसँगको अन्तर्वार्ताका क्रममा उनले भने, ‘सरकारको नेतृत्व ठूलो पार्टी पनि, शान्ति प्रक्रियाको हस्ताक्षरकर्ता पनि र इमान्दार भएकाले पनि कांग्रेसले गर्नुपर्छ ।’ तुलनात्मक रूपमा हेर्दा एमालेभन्दा कांग्रेस र ओलीभन्दा देउवा नै इमान्दार देखिएको दाहालले बताए ।
यसअघि आफू नेतृत्वको सरकार परिवर्तन हुने बेला चार घण्टा वार्ता गरेर पनि ओलीले ढाँट्दा देउवाले सिधा बताएको स्मरण गर्दै उनले भने, ‘उहाँका गल्ती छन्, विचारमा हाम्रा अन्तर छन्, थुप्रै कुरा छन् । तर, पनि उहाँले केपीजीले जस्तो धोका, बेइमानी,जालझेल र षड्यन्त्र जान्नुहुन्न भन्ने लाग्छ मलाई ।’
त्यसो त माओवादी केन्द्रका नेताहरू कांग्रेससँग विभिन्न सन्दर्भ र समयमा संवाद भइरहेको बताउँछन्। यसअघि माओवादी केन्द्रका नेता राजन दाहालले त कांग्रेससँग सरकारका बारेमा संवाद सुरु भइसकेको बताएका थिए।कांग्रेस नेताहरूले पनि सरकारका प्रति तीव्र आलोचना गर्न थालेका छन् । डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गर्न थालेका छन् ।
यस्तो पृष्ठभूमिमा दाहालले यस्तो अभिव्यक्ति दिँदा यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, अहिलेसम्म सरकारसम्बद्ध दलहरू कांग्रेस–एमाले र अन्य साना दलहरूका बीच असमझदारी देखिएको छैन, कमसेकम अहिलेका लागि ।
यद्यपि, यसअघि भने बीआरआई, कांग्रेसी–मन्त्रीहरूमाथि प्रधानमन्त्री ओलीको क्रस रिपोर्टिङलगायतका विषयका कारण केही विषयहरू बाहिरिएका थिए । तर, अहिले सतहमा केही विषय आएका छैनन्। तर, दाहालले भने केही महिनाभित्र सरकार परिवर्तन हुने बताएका हुन्।