
काठमाण्डू, १ वैशाख– आज (सोमबार) नयाँ वर्ष ०८२ को पहिलो दिनको अवसर पारेर एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा बस्दा उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले एउटा रमाइलो प्रसंग निकाले ।
बितेका वर्षमा भएका मनोमालिन्य तथा विवाद यहीं बिर्संदै सम्बन्धमा न्यानोपन सुरु गरौं भन्ने सुदूरपश्चिमको बिसु पर्वको महत्व बुझाउँदै उनले सहयोगीहरूलाई मिठाई मगाए । तर मिठाईभन्दा पहिले हात लाग्यो सिस्नो ।
भट्टले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका हातमा सिस्नु थमाए । अनि पालैपालो अरू नेताहरूलाई पनि सिस्नु बाँडे । त्यसपछि ओलीले नेताहरूलाई सिस्नो लगाए । नेताहरुले पनि ओलीलाई, अनि एक आपसलाई सिस्नो लगाए ।
पार्टीका एक पदाधिकारीले रमाइलो मान्दै सुनाए, ‘सिस्नु लगाइयो, हामीलाई पनि सिस्नु लगाए साथीहरूले । पहिले हामीले गर्ने आलोचना आत्मालोचना भन्दो यो सिस्नु अझै मौलिक र प्रभावकारी संस्कार लाग्यो ।’ सिस्नु लगाइसकेपछि नेताहरूले आपसमा मिठाई खाएर बिसुपर्वको मौलिकताबारे भट्टबाट सुनेका थिए ।