
काठमाण्डू, १ वैशाख– त्रिभुवन विश्वविद्यालयले एमएस्सी सीएआईटीको परीक्षा भएकै दिन उत्तरपुस्तिका परीक्षण गरेर नतिजा सार्वजनिक भएको छ ।
चौथो सेमेस्टरको परीक्षा आइतबार सकिए लगत्तै परीक्षण गरेर नजिता सार्वजनिक गरिएको विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन शंकरप्रसाद खनालले जानकारी दिएका छन ।
उनले भने, ‘हिजै परीक्षा सकेर हिजै नतिजा निकालेका हौं । दुई बजे जाँच सकिएको थियो । सरहरूलाई परीक्षण गर्न भन्यौं । उहाँहरूले सहयोग गर्नुभयो । राति नै नतिजा निकाल्न सक्यौं ।’ अध्ययन संस्थानका सहायक डिन महेन्द्र महर्जनले ४७ जना विद्यार्थीले परीक्षा दिएको जानकारी दिएका छन । ‘सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
चौथो सेमेस्टरमा एउटा पेपर थियो । संख्या पनि थोरै भएकाले एकै दिन परीक्षा, परीक्षण र नतिजा निकाल्न सकियो ।’ दुई वर्षमा स्नातकोत्तर सक्नु पर्ने हो । समयमै नतिजा निकालेको भएर विद्यार्थीको पढाइमा ग्याप नदेखिने भएको छ ।
समयमै नतिजा आएकोमा विद्यार्थी समेत उत्साहित भएका छन् । २०७९ मा भर्ना भएको ब्याच हो । दुई वर्षमै कोर्स पूरा भयो । विद्यार्थीको पढाइको ग्याप नहुने भएको छ । अब थेसिस गर्दा हुन्छ,’ उनले भने ।
धेरै विद्यार्थी भएका विषयमा पनि क्यालेन्डर अनुसार ९० दिन भित्र नतिजा निकाल्ने गरिएको उनले जानकारी दिएका छन ।