ज्ञानेन्द्र शाह राजा नै होइनन्ः महन्थ ठाकुर

काठमाण्डु टुडे २०८२ वैशाख ३ गते १७:४७ मा प्रकाशित

काठमाण्डू, ३ वैशाख– लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाह राजानै नभएको तर्क गरेका छन । साथै उनले नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व नै नरहेको पनि बताएका छन ।

आज (बुधबार) पार्टी केन्द्रिय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले यस्तो बताएका हुन । उनले राजा देशबाट गइसकेको भन्दै पूर्वराजा शाह राजा नै नरहेको जिकिर गरे । उनले अस्तित्व नभए पनि आफूलाई पूर्वराजा भनेर ठाउँ ठाउँमा हिँड्ने गरेको बताए ।

उनले फागुन ७ गते र नयाँ वर्षको अवसरमा पूर्वराजा शाहले दिएको शुभकामनाप्रति असुन्तुष्टि समेत व्यक्त गरेका छन । पूर्वराजा शाहलाई संसदीय व्यवस्था मान्ने तर बद्मासी गर्न खोजिरहेको आरोप उनको छ । अध्यक्ष ठाकुरले भने,‘अहिले पनि हामी संघर्षकै अवस्थामा छौँ । माईतीघर मण्डला कहिल्यै खालि हुँदैन । त्यहाँ सधैँ नै जुलुस प्रदर्शन भइरहेको हुन्छ । चैत्र १५ गतेको घटना त देखेका नै छौँ । जसले देखेको छ, सबै आफ्नो आफ्नो व्याख्या गरिरहेका छन् ।

इतिहासको सबै चिज जे छ, त्यो सही मात्रै हुँदैन । घटना सही हुन्छ, त्यहाँ दुई जना मारिए, जुलुस प्रदर्शन भयो यो सही हो । तर अरु कुरा आफ्नो आफ्नो मूल्यांकन छ । यो सबै मिलाएर इतिहास हुन्छ । राजावादी आफ्नो व्याख्या गरिरहेका छन्, अरु आफ्नो व्याख्या गरिरहेका छन् । राजा त गइसकेका हुन् । उनी छँदै थिएनन् । उनको अस्तित्व नै छैन ।

तर पनि उनी आफूलाई पूर्वराजा भनेर हिँडेका छन् । ठाउँमा ठाउँमा उपस्थित भएका छन् । अघि बढ फागुन ७ गतेको उनको वक्तव्य । त्यत्तिकै आपत्तिजनक वक्तव्य नयाँ वर्षको उपलक्ष्यमा दिइएको छ । संसदीय व्यवस्था उनले मानेका छन्, तर त्यो आफ्नो अधिनमा हुनुपर्छ भनेर लागेका छन् । उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us