कांग्रेस–एमालेबीच सत्ता साझेदारीमा समस्या छैनः गृहमन्त्री लेखक

काठमाण्डु टुडे २०८२ वैशाख ६ गते १२:४० मा प्रकाशित

काठमाण्डू, ६ वैशाख– गृहमन्त्री रमेश लेखकले वर्तमान सत्ता घटक दलहरु एमाले र नेपाली कांग्रेसबीच सत्ता साझेदारीमा कुनै पनि समस्या नभएको बताएका छन । उनले सत्ता साझेदार दलबीच समस्या नभएकाले सरकार पनि नढल्ने बताएका छन ।

कांग्रेसका पदाधिकारीले नै सरकारको कामकारबाहीका विषयमा प्रश्न उठाइरहेका बेला कांग्रेस नेता समेत रहेका मन्त्री लेखकले सो सरकार नढल्ने प्रतिक्रिया दिएका हुन ।

आज पोखरामा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री लेखकले यस्तो बताएका उनले । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘दुई पार्टीका बीचमा कुनै समस्या छैन ।’

कतिपयले सरकार ढल्छ भनिदिँदा ढल्दैन भनेर प्रष्टीकरण दिनुपरिरहेको बताएका छन । गृहमन्त्री लेखकले भने, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनु परेको छ, ‘कुनै समस्या छैन ।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले एमाले नेतृत्वको वर्तमान सरकार धेरै ‘लामो समयसम्म नजाने’ भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । यहीबेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कामकारबाहीमा प्रश्न उठाउँदै आएकाले कतिपयको शंकामा बल पुर्याएको छ ।

हालै महामन्त्री शर्माले सन्जाल विधेयक, कुलमान प्रकरण, शिक्षक आन्दोलन, अख्तियार सम्बन्धी विधेयक, त्रिविको उपकुलपतिको राजीनामा, गभर्नर नियुक्ति र नेपाल प्रहरीको एआईजी पद रिक्त भएका विषयमा सरकारको आलोचना गर्दै सरकारको प्रवृत्ति समर्थन योग्य छैन भनेर सामाजिक सन्जालमा पोष्ट सेयर गरेका थिए ।

त्यसको भोलिपल्ट फेरि उनले कांग्रेसका कारण प्रधानमन्त्रीलाई काम गर्न गाह्रो भएको भए हामी बाहिर बस्छौं भन्दै प्रतिक्रिया दिएका थिए । तर शनिबार गृहमन्त्री लेखकले गभर्नर नियुक्तिमा ढिलाइ भएको विषयमा प्रष्टीकरण दिँदै सरकारले सही ठाउँमा सही मान्छे ल्याउन खोजेको समेत बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us