
काठमाण्डू, ६ वैशाख– गृहमन्त्री रमेश लेखकले सत्तासाझेदार दल कांग्रेस र एमाले बीचको सम्बन्धमा कुनै समस्या नरहेको प्रस्ष्ट पारेका छन । आज शनिबार नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन ।
उनले सत्तासाझेदारीमा दुवै दलबीच सौहार्दपूर्ण सम्बन्ध रहेको पनि बताए । मन्त्री लेखकले सरकार आपसी सहमतिका साथ क्रियाशील रहेको उल्लेख गर्दै उनले भने, ‘साथीहरूले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’
उनले संविधान विरोधी एवं लोकतन्त्र विरोधी गतिविधि जनताले नरुचाएका पनि बताए । लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै गृहमन्त्री लेखकले लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चारमाध्यम हुने गरेका दृष्टान्त प्रस्तुत समेत गरे । मुलुकमा सात दशकको अन्तरालमा सात वटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उनले वर्तमान संविधानलाई पनि निष्क्रिय हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन ।
उनले आमाका नामबाट नागरिकता प्रमाणपत्र जारी गर्नेसम्बन्धी विधेयक सदनमा प्रस्तुत गर्ने तयारी भइसकेको बताउँदै यो समस्या चाँडै नै समाधान हुने विश्वास समेत व्यक्त गरे । फरक प्रसङ्गमा उनले गभर्नर नियुक्तिमा कुनै समस्या नरहेको स्पष्ट गर्दै उपयुक्त व्यक्तिलाई उपयुक्त स्थानमा नियुक्त गरिने बताए । शिक्षकका माग पूरा गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।