
एजेन्सी– विश्वशक्ति राष्ट्र अमेरिमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिहरूको विरोधमा हजारौँ प्रदर्शनकारी फेरि एकपटक सडकमा उत्रिएका छन् । न्युयोर्क टाइम्सका अनुसार यी प्रदर्शनहरू हिजो (शनिबार) अमेरिकाका सबै ५० राज्यमा भएका थिए ।
प्रदर्शनकारीहरू ट्रम्पको भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोध गरिरहेका थिए । यस क्रममा प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका छन् ।
उनीहरूले ट्रम्पमाथि नागरिक अधिकार र कानुनी शासनमाथि हमला गरेको आरोप लगाएका छन् । यस आन्दोलनलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ होः ५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन ।
प्रदर्शनकारीहरूले ह्वाइट हाउससँगै टेस्लाका शोरूमहरू पनि घेराबन्दी गरेका छन । ट्रम्पको विरोधमा गरिएको यो दोस्रो चरणको आन्दोलन हो ।
यसअघि अप्रिल ५ मा पनि देशभर व्यापक प्रदर्शन भएका थिए। ह्वाइट हाउसबाहिर ट्रम्पविरुद्ध पोस्टर लिएर विरोध गरिरहेकी एक महिलाको हातको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्पलाई अल सल्भाडोरको जेलमा डिपोर्ट गर।’