
काठमाण्डू, ७ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका नेताहरूसँगको भेटमा ‘राजनीतिक कुराकानी’ भएको खुलासा भएको छ । वर्तमान व्यवस्था विरुद्ध राजावादीको गतिविधि बढिरहेका बेला पूर्वराजाले शुक्रबार बिहान करिब डेढ घण्टा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ नेतासँग ‘लन्च वार्ता’ गरेका थिए ।
नयाँ वर्षको शुभकामना आदानप्रदान भनिए पनि छलफल मूलतः राजनीतिक विषयवस्तुमै केन्द्रित रहेर खुलेर कुराकानी भएको स्रोतले जानकारी दिएको छ । उसो त राप्रपाकै नेताहरूले पूर्वराजासँग शुक्रबार ‘बिल्कुलै राजनीतिक विषयमा कुराकानी भएको’ समेत प्रतिक्रिया दिएका छन ।
पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही निर्मल निवास निर्मल निवास पुगेका थिए । सो क्रममा तीनकुने घटना, नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को गठनका साथै देशको वर्तमान अवस्थाका सन्दर्भमा कुराकानी भएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार पूर्वराजाले छलफलको सुरुमै तीनकुनेको घटना किन हिंस्रक भयो ?’ भन्दै राप्रपाका नेताहरूलाई प्रश्न गरेका थिए । ‘आन्दोलनमा नेपाली आमाका छोराछोरी कोही मर्नु हुँदैन’, पूर्वराजा शाहको भनाइ थियो, ‘हामीले मान्छे नमरुन् भनेर नै हिजो सहज र शान्तिपूर्ण रूपमा सत्ता छाडेको हो ।’ उनले सबै भन्दा ठुलो राजावादी समूहको नेताका हिसावले आन्दोलन शान्तिपूर्ण बनाउन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले किन भूमिका नखेलेको भन्दै प्रश्न उठाएको समेत स्रोतले जानकारी दिएको छ ।
जवाफमा लिङ्देनले आन्दोलन समिति पूर्वराजाले नै बनाएको सुनेको भन्दै आफूले सहयोग मात्रै गरेको बताएका थिए । जवाफमा पूर्वराजाले समितिबारे अनविज्ञता दर्साउँदै आफ्नो यसमा कुनै भूमिका नरहेको बताएका थिए । ‘हामीले कहिले बनायौँ नवराज सुवेदीलाई ? यस्तो हामीले कहीँ भनेको पनि छैन’, पूर्वराजाको भनाइ थियो ।
यस्तै उनले आफूले दुर्गा प्रसाईंलाई निर्मल निवासमा तीनकुने आन्दोलनअघि नभेटेको समेत बताएको ती नेताको भनाइ छ । उनका अनुसार प्रसाईं निर्मल निवास प्रवेश गरेपनि पूर्वराजाका सचिवहरूलाई मात्रै भेटेको पूर्वराजाको दाबी थियो । चैत १५ मा तीनकुनेमा भएको प्रदर्शन हिंसात्मक बन्दा पूर्वराजा विवादमा तानिएका थिए भने पूर्वराजाकै चाहनामा दुर्गा प्रसाईंलाई सो दिनको आन्दोलनको कमान्डर बनाइएको विषय बाहिरिएको थियो ।
उक्त दिन कमान्डर बनेका प्रसाईंकै हर्कतले तीनकुनेमा हिंसा भड्किएको टिप्पणी समेत हुँदै आएको सन्दर्भमा पूर्वराजाले तीनकुनेमा आफ्नो कुनै संलग्नता नरहेको बताएका हुन् । बरु पूर्वराजाले आफ्नो नाममा खेल्न केही राजावादी नेताहरुनै लागेको प्रति असन्तुष्टि पोखेको पनि स्रोतले जानकारी दिएका छ ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र लगायत खेलेर पूर्वराजाको नाममा आन्दोलन परिचालन समिति बनाएको बुझाइ निर्मल निवासको रहेको स्रोतको भनाइ छ । यस्तै पूर्वराजाले जुनसुकै आन्दोलन पनि शान्तिपूर्ण हुनुपर्नेमा जोड समेत दिएका थिए ।
राप्रपाले आइतबार राजधानीमा प्रदर्शन आयोजना गरेको अवस्थामा पूर्वराजाले प्रहरीलाई ढुंगा नहान्न र गुलाफको फूल दिन समेत सुझाएको बताएको छ । ‘पुलिसलाई गुलाफको फूल दिनू , प्रहरी आफ्नो दाजुभाइ हो । मान्छे मारेर आएको व्यवस्था कहिले पनि ठिक हुँदैन’, उनको भनाइ थियो ।