
काठमाण्डू, ७ वैशाख– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सिंहदबारभित्रै सांकेतिक प्रदर्शन जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका सांसदहरुले सिंहदबारभित्रै प्रदर्शन जनाएका हुन ।
उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका हुन् । सो पम्प्लेट प्रहरीले खोसेको छ । राप्रपाका नेताहरु सिंहदरबारबाट प्रदर्शन गर्दै बाहिरिएका थिए ।
सो क्रममा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति समेत व्यक्त गरेका छन । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।
सोही अनुसार राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै सांकेतिक प्रदर्शन गरेका हुन् । नेताहरु अब बानेश्वर पुग्ने बताइएको छ ।