नेपाल आउँदै भारतीय विद्युत्‌मन्त्री खट्टर

काठमाण्डु टुडे २०८२ वैशाख ७ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, ७ वैशाख– भारतका विद्युत् र आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आउने भएका छन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा खट्टर नेपाल आउन लागेको स्रोतले जानकारी दिएको छ ।

उनी दुई दिनको भ्रमणका लागि ९ वैशाखमा नेपाल आउनेछन् । ३० माघ २०८१ मा भारत भ्रमण क्रममा मन्त्री खड्काले त्यहाँका विद्युत्‌मन्त्री खट्टरलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्‌मन्त्री खट्टरले ९ वैशाखमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०–१३३–३३ केभी तुम्लिङटार सबस्टेसन, २२०–३३ केभी बानेश्वर सबस्टेसन र २२०–१३३–३३ केभी बसन्तपुर सबस्टेसन संयुक्त रूपमा संखुवासभा तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

खट्टरले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्र अवलोकन गर्नेछन् । सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माण कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

त्यस्तै १० वैशाखमा भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङ मुक्तिनाथ अवलोकन भ्रमण गर्ने कार्यक्रम छ । सोही दिन उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेट गर्नेछन् । खट्टर सोही दिन साँझ पशुपतिनाथ दर्शन गरेर भारत फर्कने कार्यतालीका रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us