
काठमाण्डू, ७ वैशाख– वर्तमान सत्ता घटक प्रमुख दल कांग्रेस र एमाले बीचको सम्बन्ध धर्मराउँदै गाएको छ । पछिल्लो समय प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति सभापति शेरबहादुर देउवाबीचको सम्बन्ध चिसिँदै गएको बताइन्छ । अन्तर्राष्ट्रिय र पार्टीभित्रकै नेताहरूका कारण कांग्रेस सभापति देउवा दोहोरो दबाबमा छन ।
अन्तर्राष्ट्रिय शक्तिको निरन्तरको दबाब र पार्टीभित्रैका नेताहरूले सरकारको लगातार आलोचना गर्न थालेपछि देउवा दोहोरो दबाबमा परेका हुन । कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला, एनपी साउदसहितका नेताहरूले ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर निरन्तर आलोचना गरी रहेका छन ।
तर, सभापति देउवाले उनीहरूलाई रोक्ने अवस्था छैन । स्रोतका अनुसार हालै बसेको पदाधिकारी बैठकमा देउवाले सार्वजनिक रूपमा सरकारको आलोचना नगर्न निर्देशन नै दिएका थिए। तर, नेताहरू चुप लागेर बस्ने अवस्था छैन । कांग्रेस र एमालेबीच ७ बुँदे सहमति भई सरकार बनेको ९ महिना पुग्यो ।
तर, जुन सहमतिका साथ सरकार बनेको हो त्यसमा सरकारले राम्रो काम गर्न नसकेको भन्दै कांग्रेका नेता हरुले पछिल्लो समय ओली सरकारको आलोचना गरीरहेका छन । यसबीचमा चीन भ्रमण गरेका प्रधानमन्त्री ओलीले भारतको समेत भ्रमण हुने आफैंले बताउँदै आएका थिए । त्यसका लागि परराष्ट्रमन्त्री आरजु देउवा राणाले पटकपटक नयाँदिल्ली गएर वातावरण बनाउने काम गर्दै आएकी छन् । तर, ओलीको भारत भ्रमण गराउन उनी सफल हुन सकिनन् ।
प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणासहित अझै भारत भ्रमण’ मा प्रयासरत नै छन् । तर, भारतले रुचाएको छैन । ‘अहिले कांग्रेस र एमालेका नेताहरूबीच पहिलाजस्तै सम्बन्ध छैन । दूरी बढ्दै गइरहेको छ, सम्बन्ध चिसिँदै गइरहेको छ । एकले अर्कोमाथि गर्ने विश्वासको वातावरण पहिलाजस्तो छैन, भारतसहित अन्तर्राष्ट्रिय दबाब अर्कै छ ।
अन्तर्राष्ट्रिय र पार्टीभित्रकै दबाब थेग्न नसक्ने अवस्थामा कांग्रेस सभापति हुनुहुन्छ । कसरी अगाडि बढ्ला अहिले भन्न सकिने अवस्था छैन,’ उच्च स्रोतले भने । प्रधानमन्त्री ओली र देउवाबीच भएको सहमति कार्यान्वयन हुने कि नहुने शंकाकै अवस्था छ ।
गभर्नर नियुक्तिमा ओली र देउवाबीचमा सहमति भएको बताइए पनि ढिलाइ भइरहेको छ । ओली र देउवाले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा समेत यो विषयमा छलफल गरेका छन् । सत्ता सहकार्यमा एकजुट रहेको सन्देश पनि दिएका छन् ।
तर, कतिपय कांग्रेस नेताले नै सरकारको आलोचना गर्दै आएका छन् । यही बीचमा कांग्रेसले आउँदै १७ वैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा नेताहरू कसरी प्रस्तुत हुने सोहीअनुसार देउवा अगाडि बढ्ने अवस्था आउन सक्ने कांग्रेस नेताहरू बताउँछन् ।