
काठमाण्डू, ८ वैशाख– कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोट, पलाँता गाउँपालिका–४ का २१ वर्षीय रवीन्द्र विक, सोही स्थानका ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटकी अन्दाजी २५र२६ वर्षीय अम्बा शाही रहेको जिल्ला प्रहरी कार्यलय कालीकोटले जानकारी दिएको छ ।
कालीकोटको पलाँता गाउँपालिका–९ थीर्पुबाट पलाँता–४ छलतर्फ खाद्यान्न, खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर पलाँता–२ बुडाडाँडा नजिक गएराति दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले कालीकोटले जनाएको छ ।
दुर्घटनाग्रस्त ट्याक्टर सडकभन्दा तल अप्ठेरो भिरमा अड्किएको पनि प्रहरीले जानकारी दिएको छ । शवहरू भने सडकभन्दा करिब २०० मिटर तल भेटिएको थियो ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको कमान्डमा प्रहरी टोली राति नै घटनास्थल पुगेको थियो । अप्ठेरो भिर भएकाले ट्याक्टर भएको ठाउँसम्म प्रहरी पुग्न सकिएको छैन । त्यसैले दुर्घटनाग्रस्त ट्याक्टरको नम्बर पनि खुलेको छैन ।