उदयपुरमा भालुको आक्रमणबाट महिला घाइते

काठमाण्डु टुडे २०८२ वैशाख ८ गते १८:३३ मा प्रकाशित

काठमाण्डू, ८ वैशाख– उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छन ।

भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । बिहान ९ बजेतिर स्थानीय नारायणी सामुदायिक वनमा घाँस काट्दै गरेकी तामाङलाई भालुले आक्रमण गरेको हो ।

भालुले तामाङमाथि आक्रमण गरेपछि उनी कराएका कारण अन्य वरपर घाँस काट्ने साथी आएपछि भालु भागेको थियो भने तामाङ घाइते भएकी थिइन् ।

भालुको आक्रमणबाट तामाङको टाउको, हात र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जानकारी दिएको छ । घाइते तामाङको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिएका छन । कटारी ग्रासका स्थानीय राजन बरालका अनुसार पछिल्लो समय नारायणी सामुदायिक वन क्षेत्र निकै घना जङ्गल हुँदै गएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us