सरकार विरोधीको घेराबन्दीमा छ, पार्टीभित्रै मेरो विकल्प खोज्न थालियोः ओली

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १६:२० मा प्रकाशित

काठमाण्डू, ९ वैशाख–प्रधानमन्त्री केपी ओलीले सरकार विरोधीहरूको घेराबन्दीमा परेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले विरोधीले सरकार र नेतृत्वमाथि संगठित रुपले घेराबन्दी र हमला गरिरहेको बताएका हुन् ।

ओलीले विरोधीको हमलामा आफूलाई पार्टीभित्रैबाट सहयोग नभएको र प्रतिवाद नगरेको भन्दै असन्तुष्टि जनाए ।

‘विरोधीहरुबाट सरकार र नेतृत्वविरुद्ध संगठित ढंगले घेराबन्दी र हमला भइरहेको छ’, ओलीले भने, ‘विरोधीहरूले संगठित ढंगले हमला गरिरहँदा पार्टीकै कतिपय नेता त्यसै हमला गरेको छ छ र ? भन्ने किसिमका अभिव्यक्ति दिन थालेका छन् ।’

राम्रो काम गर्दा गर्दै आफूमाथि बिना गल्ती अपराधी, समाज बिगार्ने र राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्त्वहरू आफ्नो विरोधमा उत्रिएको ओलीको भनाइ थियो ।
आफू जेलनेल, हिरासत र आलोचना सहेरै आएको भन्दै उनले विरोधसँग नडराने बताए ।

फरक प्रसंगका ओलीले विभिन्न वैदेशिक शक्तिले पार्टी र सरकारलाई समर्थन नगरेको उल्लेख गरे । तर, कुनै शक्तिको नाम भने लिएनन् ।

राष्ट्रियताको सवाल उठाएका कारण विरोधको सामना गरिराखेको दाबी उनको छ । राष्ट्रियता र अग्रमगनको पक्षमा उभिएका कारण आफ्नो विरोध भएको भए पनि पार्टीभित्रै कम आलोचना खेप्ने नेतृत्वको खोजी हुन थालेको ओलीले खुलाए ।

आन्दोलनको उद्देश्य, राष्ट्रियताको मुद्दा र अग्रगमनको यात्रा छाड्ने हो भने आफ्नो हाइहाई हुन थाल्ने जिकिर पनि उनको छ ।

‘मैले गति छाडेँ भन्दिने हो भने हाइहाइ गरिहाल्छन् । हो यस्तो पो हुनुपर्छ भनिहाल्छन्’, उनले भने । एमाले महान परिवर्तनको उद्देश्यमा अघि बढेकाले त्यसबाट तलमाथि नहुने उनको प्रष्टोक्ति थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us