
काठमाण्डू, ९ वैशाख–प्रधानमन्त्री केपी ओली पूर्वराजा ज्ञानेन्द्रप्रति कडा रुपमा प्रस्तुत भएका छन् ।
७६औं नेकपा स्थापना दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले पूर्वराजाबारे कठोर टिप्पणी गरे ।
पैसामा खरद गरेका चारजना गुण्डा सहरमा उतारेर आगो लगाउन र मान्छे मार्न लगाएर राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न ओलीले पूर्वराजा शाहलाई चेतावनी दिए ।
‘पैसा तिरेका चारवटा गुण्डा सहरमा उतारेर आगो लगाउन लगाएर, मान्छे मार्न लगाएर, पार्टी कार्यालयहरूमा तोडफोड गर्न लगाएर, व्यक्तिका घरहरूमा तोडफोड गर्न लगाएर व्यापार बिजनेसमा आक्रमण गर्न लगाएर देश धेरै बिग्रियो हामी सपार्न आउँछौँ, साथ देऊ, म अगाडि बढ्छु भनेर आह्वान गर्ने ?’, ओलीले भने ।
ओलीले विगतमा संविधान नमानेर निरंकुशता लादेका पूर्वराजाले संवैधानिक हुन्छु भनेर कसैले विश्वास नगर्ने बताए । ‘जनताले भनेको नमान्ने, जनताले बनाएको संविधान नमान्ने । जनताले ल्याएको लोकतन्त्र नमान्ने । जनताको प्रणाली नमान्ने । जनताको सार्वभौम सत्ता नमान्ने । जनताको सर्वोच्चता नमान्ने । जनता शक्तिका स्रोत हुन् भन्ने नमान्ने अनि जनताको चहानाअनुसार भन्ने ?’ उनले ज्ञानेन्द्रलाई प्रश्न गरे ।
२०५८ जेठ १८ मा भएको दरबार हत्या काण्डमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि राजा बनेका ज्ञानेन्द्रले ‘कू’ गरेर राजनीतिक नेताहरुलाई थुनेको स्मरण गरे ।
यस्तै उनले ज्ञानेन्द्रको शासनमा समाचार पढ्नेका अगाडि आर्मी उभिएको र समाचार कक्षहरुमा सम्पादीय स्वतन्त्रा खोसिएको विषय प्रेस जगतलाई स्मरण गराए । ‘अहिले प्रेस के भन्दैछन् म बुझ्दिनँ । त्यतिबेला त समाचार भन्नेका पछाडि आर्मी उभिन्थे । आर्मी पछाडि बसेर स्टुडियोबाट समाचार भनेको होइन ?’, उनले प्रश्न गरे ।
२०५८ असोज १८ र २०६० माघ १९ मा दुई पटकसम्म ‘कू’ गर्दा सञ्चार माध्यम र पत्रकारको कार्यालयमै साँचो लगाउन सेना परिचालन गरिएको स्मरण गरे । ‘साँचो लगाउन गएको होइन प्रेसमा ? समाचार बन्द गरिएको होइन पत्रिकाहरूको ?’, ओलीले भने ।
ओलीले पूर्वराजाले टेलिफोनको लाइन काटेर नपुगेपछि तारसमेत काटेको स्मरण गरे । त्यतिबेला काटिएको तार पूर्वराजाले अझै फिर्ता नगरेको टिप्पणी ओलीको छ । ‘कस्तो मुर्ख होला ? लाइन काटेपछि त सकियो नि तार पनि काटेको थियो । त्यो तार अहिलेसम्म फिर्ता गरेका छैनन् ज्ञानेन्द्र शाहले ।’