ज्ञानेन्द्रले आफ्नो मान्छे नभएको बताएपछि पूर्वपञ्च सुवेदी नजरबन्द मुक्त

काठमाण्डु टुडे २०८२ वैशाख ९ गते १८:४३ मा प्रकाशित

काठमाण्डू, ९ वैशाख– पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समिति संयोजक पूर्वपञ्च नवराज सुवेदी नजरबन्द मुक्त भएका छन् ।

सरकारले सुवेदीको घरबाहिर परिचालित प्रहरी मंगलबारबाट हटाएपछि उनी नजरबन्द मुक्त भएका हुन् । प्रहरीले भने नजरबन्दमा राखिएको नभई सुवेदीकै सुरक्षाका लागि घरबाहिर प्रहरी तैनाथ गरिएको बताउँदै आएको छ ।

८७ वर्षीय वयोवृद्ध सुवेदीले गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको नेतृत्व गरेका थिए । आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने व्यक्तिका घर, व्यापारिक कम्प्लेक्स, पार्टी कार्यालय, जडिबटीस्थित औषधि कारखानाका साथै दर्जनौं निजी तथा सार्वजनिक सवारी साधानमा आगजनी र लुटपाट भएको थियो ।

सोही दिन साँझबाट सुवेदीलाई घरमै नजरबन्दमा राखिएको थियो । नजरबन्द मुक्त भएसँगै सुवेदीले राजतन्त्र पुनस्र्थापनाका लागि गठित समिति संयोजकको जिम्मेवारी सम्हालेका छन् ।

यसअघि उनले नजरबन्दबाटै प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङलाई संयोजक तोकेका थिए ।
काठमाण्डू प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले सुवेदीको निवासबाहिर खटाइएका प्रहरी हटेको पुष्टि गरे ।

पूर्वराजा शाहले केही दिनअघि निर्मलनिवासमा अध्यक्ष राजेन्द्र लिङदेनसहित राप्रपाका केही नेतासँग डिनर बैठक गरेका थिए । त्यस क्रममा तिनकुने घटनाबारे चर्चा भएको राप्रपा नेताहरुले बताएका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले सुवेदीलाई आफूले संघर्ष समितिको संयोजक नतोकेको र उनीसँगै भेटघाट नभएको वर्षौं भइसकेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us