
काठमाण्डू, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई पदबाट बर्खास्त गरेका छन् ।
काँग्रेस सांसद तामाङलाई बुधबार ओलीले बर्खास्त गरेका हुन् । उनी कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णयको विरोधमा थिए ।
तामाङलाई बर्खास्तीबारे जानकारी पनि गृहमन्त्री रमेश लेखकले टेलिफोनबाट गराएका छन् ।
निर्माण व्यवसायीसमेत रहेका रामेछापका तामाङको कम्पनी समयमै विकास आयोजनाको ठेक्का पूरा नगरेका कारण बदनाम छ । उनको निर्माण कम्पनी सार्वजनिक खरिद अनुगमन कार्यालयको कालोसूचीमा छ ।
केही दिनअघि मात्र उनले एक कार्यक्रममा आफूसँगै मञ्चमा नबसेको आरोपमा ऊर्जासचिव सुरेश आचार्यलाई प्रक्रियाविपरीत लिखित स्पष्टीकरण सोधेका थिए । सचिवलाई मुख्यसचिवले मात्र स्पष्टीकरण सोध्न पाउँछन् ।