
काठमाण्डू, १० वैशाख– भारत काश्मिरको पाहलगाममा मंगलबार भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ ।
रूपन्देहीको कालिकानगर निवासी २५ वर्षीय सुदीप भारत घुम्न गएका बेला आक्रमणमा परेका थिए।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले घटनापछि तत्काल भारतीय विदेश मन्त्रालयसँग समन्वय गर्दै सुदीपको शव नेपाल ल्याउने व्यवस्था मिलाएकी हुन्। मन्त्री राणाको निर्देशनमा नयाँ दिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले भारतीय पक्षसँग सहकार्य गरेका थिए।
सुदीपसँगै घुम्न गएका उनका आफन्तहरू—रिमकला पाण्डे, युवराज काफ्ले, सुष्मा न्यौपाने, र हरिप्रसाद सापकोटालाई पनि आजै नेपाल फर्काइने तयारी गरिएको छ। आक्रमणमा परेर रिमकला पाण्डे घाइते भएकी छन्।
शव र यात्रुहरूलाई आज साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली ल्याइनेछ, त्यसपछि राति ९स्३० बजे दिल्लीबाट लखनौँ हवाई उडानमार्फत पठाइने योजना छ। लखनौँबाट एम्बुलेन्समा नेपाल–भारत सीमाको सुनौली बोर्डरसम्म र त्यसपछि बुटवलसम्मको यात्राको पनि व्यवस्था मिलाइएको छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासका दुई कर्मचारी दिल्ली विमानस्थलमा सहज आवागमन सुनिश्चित गर्न खटाइएका छन्। सुनौली बोर्डरबाट बुटवलसम्म सुरक्षित रूपमा पुर्याउने कार्यमा गृह मन्त्रालयसँग समन्वय गरिएको छ। यसका लागि मन्त्री राणाले गृहमन्त्री रमेश लेखकसँग पनि कुराकानी गरेकी छन्।
सुदीपका आफन्तहरूका अनुसार घटनास्थलमा बस्न सकिने अवस्था नरहेकाले तुरुन्त घर फर्किने व्यवस्था मिलाइदिन अनुरोध गरिएको थियो ।
सोही अनुरोधको आधारमा परराष्ट्र मन्त्रालयले समन्वय गरी आजै उनीहरूलाई नेपाल ल्याउने तयारी गरेको हो ।