
काठमाण्डू, ११ वैशाख– हाल नेपालमा स्थानीय वायु प्रणालीको आंशिक प्रभाव सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार देशका विभिन्न भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
बिहीबार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी प्रदेशहरूमा मौसम मुख्यतः सफा रहने विभागले जारी गरेको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
बिहीबार रातिको मौसम पनि यस्तै रहने अनुमान गरिएको छ । रातिको समयमा ती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहन सक्नेछ भने अन्य क्षेत्रको मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का वर्षा वा हिमपातको सम्भावना यथावत् रहेको विभागले स्पष्ट पारेको छ ।
यद्यपि आगामी तीन दिनसम्म देशभर वर्षा गराउने खालको उल्लेखनीय प्रणाली सक्रिय नहुने मौसमविद्हरूले बताएका छन् । उनीहरूका अनुसार शनिबारबाट मात्रै नयाँ प्रणाली सक्रिय हुने सम्भावना रहेको छ, जसपछि देशका विभिन्न भू–भागमा वर्षा हुने अनुमान गरिएको छ ।
यसैबीच, मौसमविद्हरूले देशका केही भू–भागमा तापक्रम उच्च मापन गरिएको जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेशका केही केन्द्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको जनाउँदै उनीहरूले आगामी दिनमा तापक्रम अझै बढ्न सक्ने भएकाले तातो हावा (लू) चल्न सक्ने चेतावनीसमेत दिएका छन् ।