ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिनको सम्भझनामा लोकतन्त्र दिवस

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते ८:३७ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– आज १९औं लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको दिनको स्मरणमा हरेक वर्ष आजैका दिन लोकतन्त्र दिवस मनाउने गरिएको छ ।

यो दिनलाई लोकतन्त्रवादीहरुले जनताको शक्तिका अगाडि निरंकुशता पराजय भएको दिनको रुपमा स्मरण गर्दै आएका छन् ।
ज्ञानेन्द्र शाहले नेपाल अधिराज्यको संविधान २०४७ मा नभएको व्यवस्था प्रयोग गरी आफू देशको कार्यकारी प्रमुख भएको स्वघोषणा गर्नुका साथै आफ्नै अध्यक्षताको मन्त्रिपरिषद्मार्फत निरंकुश शासनको अभ्यास गरेका थिए ।

संविधानले राखेको संवैधानिक राजाको दायरा नाघेर उनले आफूले आफैँलाई मन्त्रिपरिषद् अध्यक्षका घोषणा गरेर कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेपछि त्यसविरुद्ध तत्कालीन सात दल र सशस्त्र विद्रोही माओवादी मिलेर आन्दोलन चर्काएका थिए ।
निरंकुश शासनविरुद्ध आन्दोलनमा उत्रिएका जनतामाथि व्यापक दमन भयो । १९ दिनसम्म चलेको आन्दोलनमा २१ जनाको ज्यान गयो ।

राजनीतिक सहमतिका आधारमा पुनःस्थापित प्रतिनिधि सभाको ४ जेठ ०६३ को बैठकले राजतन्त्र निलम्बन गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कार्यबाहक राष्ट्र प्रमुखको भूमिकामा रहे ।

सोही दिनको संसद् बैठकले राजसंस्थाको भूमिकालाई निलम्बन गरी माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो ।

यसैको जगमा २०६४ साल चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्ष पुरानो राजसंस्थाको विधिवत् अन्त्यको घोषणा गरेको हो ।

२०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । नेपालमा संविधानसभाको निर्वाचनमार्फत नेपाली नागरिकले नै आफ्ना जनप्रतिनिधि छानेर उनीहरुको सहभागितामा निर्माण भई जारी भएको यो पहिलो संविधान हो ।

जनबलबाट पराजित भएर गद्धी त्यागेका पूर्वराजा ज्ञानेन्द्र शाह लोकतन्त्र स्थापनाको १९ वर्ष पुग्दै गर्दा पुनः राजतन्त्र ब्युँत्याउन सक्रिय भएका छन् ।

उनले ववादित मेडिकल व्यवसायी, दुर्गा प्रसाई, पूर्वपञ्च नवराज सुवेदी र राजावादी दल राप्रपामार्फत पुनः शक्तिमा फर्कने कोसिस गरेका हुन् । सोही क्रममा गत चैत १५ गर्ते प्रसाईं, सुवेदी र राप्रपा सहभागी आन्दोलन हिंसात्मक बनेको थियो । त्यसयता राजावादी आन्दोलन मत्थर बन्दै गएको छ ।

हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाई र राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत प्रहरी हिरासतमा छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us