स्थानीयले आफ्नै घरका पेटी भत्काएर गरे सडक विस्तार

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १४:५६ मा प्रकाशित

म्याग्दी, ११ वैशाख– मालिका गाउँपालिका–६, दरवाङका स्थानीयवासीले सडक स्तरोन्नतिको अभियानमा सहभागी हुँदै आफ्ना घरको पेटी र टहरा आफैँ भत्काएर सडक विस्तारमा उल्लेखनीय योगदान दिएका छन् ।

गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाका अनुसार, यसअघि तीन दशमलव पाँच मिटर चौडाइ रहेको सडकलाई पाँच दशमलव पाँच मिटर पुर्‍याउन दायाँबायाँका संरचना हटाइएको हो ।

हुलाकचोक, तल्लो दरवाङ, पुलचोकदेखि झोलुङ्गे पुलसम्म सडकको दुवै किनारमा करिब ४०० मिटर लम्बाइमा पानी निकासका लागि नाली निर्माण गरिएको छ ।

सडक स्तरोन्नति तथा नाली निर्माणका लागि मालिका गाउँपालिकाले ४७ लाख ५३ हजार रुपैयाँको अनुदान प्रदान गरेको छ। यस योजनाको कार्यान्वयनमा स्थानीय उपभोक्ताले ५ लाख ४१ हजार ८ सय ३३ रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

स्थानीयको स्वस्फूर्त सहभागिताले विकास योजना प्रभावकारी रुपमा कार्यान्वयन भएको उदाहरण दरवाङ बजारले प्रस्तुत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us