अब धेरै बोल्दिन, काम गर्छुः नवनियुक्त शिक्षामन्त्री पन्त

काठमाण्डु टुडे २०८२ वैशाख ११ गते १८:३४ मा प्रकाशित

काठमाण्डू, ११ वैशाख– नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आफूले अब धेरै नबोल्ने बताएका छन् ।

बिहीबार शीतनिवासमा पथ तथा गोपनियताको सपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेर पन्तले आफूले बोल्ने भन्दा काम गरेर देखाउने दाबी गरे ।

पन्तले आफ्नो ध्यान आन्दोलनरत शिक्षकहरुका माग सम्बोधनमा केन्द्रित हुने बताए । वार्ता र संवादबाटै शिक्षकका समस्या समाधान गर्न सकिने उनको विश्वास थियो ।

‘शिक्षकका समस्याबारे जानकार छु । सबै विषयमा पहिला जानकारी लिन्छु,’ उनले भने, ‘अब बोल्ने भन्दा काम गर्ने हो ।’

प्रधानमन्त्री केपी ओलीले काममा असहयोग गरेको भन्दै विद्या भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

रिक्त पदमा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार पन्तलाई मन्त्री नियुक्त गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us