प्रधानमन्त्रीले रद्द गरे संसदमा बोल्ने पूर्वनिर्धारित कार्यक्रम

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते ११:५४ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार)को प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरेका छन ।

संघीय संसद अधिवेशन सुरू हुन लागेको अवसरमा प्रधानमन्त्री ओलीले शुक्रबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा शीर्ष नेताहरू उपस्थित नहुने भएपछि प्रधानमन्त्रीले सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम रद्द गरीएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन ।

शीर्ष नेताहरू उपस्थित नहुने भएकाले प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित गरिएको बर्तौलाले जानकारी दिए ।प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखाको बारपाकमा छन्। भूकम्प गएको १० वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहीबार नै बारपाक पुगेका थिए ।

‘प्रमुख प्रतिपक्षी दलको नेता पूर्व निर्धारित कार्यक्रमका लागि बाहिर हुनुहुन्छ, प्रधानमन्त्रीले प्रतिपक्षी दल नेता बैठकमा आउन नसक्ने हो भने म बोल्दिनँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ बर्तौलाले भने, ‘उहाँ अर्को दिन संसदमा बोल्नुहुन्छ ।

प्रधानमन्त्री बोल्ने बेला प्रमुख प्रतिपक्षी दलको नेता र प्रतिपक्षी दलको नेता बोल्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ। अघिल्लो पटक प्रतिपक्षी दलको नेता बोल्ने समय तय भए पनि प्रधानमन्त्री कार्यव्यस्ताले उपस्थित हुन सक्नु भएको थिएन ।’

यस्तै सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि स्वास्थ्य उपचारका लागि भन्दै थाइल्याण्डमा छन् । ‘शेरबहादुर देउवा पनि बाहिर हुनुहुन्छ। त्यसैले प्रधानमन्त्री नबोल्ने कुरा भयो। अर्को दिन बोल्नुहुन्छ,’ उनले भने।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us