सभामुखको अपिलः असन्तुष्टिका आवाज बढ्यो, यथासम्भव कानुन बनाऔं

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १३:२५ मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानुन बनाउन आग्रह गरेका छन । आज (शुक्रबार) प्रतिनिधि सभाको छैटौं अधिवेशन प्रारम्भ भएको अवसरमा प्रतिनिधि सभामा अपिल गर्दै सभामुख घिमिरेले संसदले निर्माण गर्नुपर्ने कानुनलाई यथासम्भव टुङ्ग्याउन सबैको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन ।

सभामुख घिमिरेले भने, ‘संसद्को मुख्य जिम्मेवारी भनेको मुलुकका लागि कानून निर्माण गर्नु नै हो, ‘समयमा नै कानुन बनाउन नसक्दा देखिएका असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न संसदले निर्माण गर्नुपर्ने कानूनलाई यथासम्भव टुङ्ग्याउन हामी सबैको साझा प्रतिबद्धता आवश्यक छ ।’

संसद जनताको आवाजको प्रतिनिधित्व गर्ने थलो भएको उल्लेख गर्दै सभामुख घिमिरेले संसदमा राष्ट्रिय मुद्दाहरूमा बहस गरिने र जनताको चाहना अनुरूप निर्णयहरू लिइने बताए ।

उनले प्रतिनिधि सभाको आजदेखि सुरु भएको बजेट अधिवेशनसरकारको नीति तथा कार्यक्रम, बजेटसँगै कानुन निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त समेत गरेका छन ।

संसदको प्रभावकारिता अभिवृद्धि गर्न सकेमात्रै लोकतन्त्रको सुदृढिकरण, सुशासन, जवाफदेहिता र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सहयोग पुग्ने सभामुख घिमिरेको भनाइ छ ।

उनले भने, ‘प्रभावकारी संसदले मात्रै देशका समस्या समाधान गर्न उपयुक्त नीति तथा कानून बनाउँछ, सामाजिक न्याय, आर्थिक विकास र राष्ट्रिय समृद्धिमा टेवा पुर्‍याउने भएकाले आगामी अधिवेशन सफल बनाउन अपिल गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us