
काठमाण्डू, १२ वैशाख– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको पुष्टि गरेकी छन । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले बताइन ।
थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएकी मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले सरकार परिवर्तनको हल्लाबारे सोधेका थिए । सो जिज्ञासामा उनले मनोरञ्जनका लागि हल्ला चलाइएको उनको दाबी छ ।
‘तपाईंहरुले आफैं भन्नुभो हल्ला भनेर,’ उनले प्रश्नकर्ता पत्रकारलाई भनिन्, ‘अलिअलि इन्टरनेटमेन्टका लागि पनि यस्ता न्यूजहरु आउने गर्छ ।’ सरकार परिवर्तनबारे आएका समाचार हेरेर छक्क परेको उनले बताइन् ।
उनले थपिन्, ‘सरकार परिवर्तन त नेपालभित्रै बसेर गर्ने होला । विदेशमा गएर त यहाँको सरकार परिवर्तन हुँदैन ।’ सरकारका विषयमा विहीबार बेलुका कांग्रेस सभापति देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुराकानी पनि भएको आरजुले जानकारी दिइन् । ‘बेलुका सभापतिज्यू र प्रधानमन्त्री ज्यूको कुराकानी पनि भाको छ, त्यस्तो केही पनि छैन,’ उनले भनिन्, ‘फोनमा कुरा भयो ।’