
काठमाण्डू, १२ वैशाख– पछिल्ला केहि दिन यता काठमाण्डूको सडकमा निरन्त आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ ।
सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएका छन । वार्ता तीन बजेपछि हुने शिक्षा मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् ।
स्रोतले भन्यो, ‘सरकारको तर्फबाट वार्ता कमिटी बनेको छैन । मन्त्रीज्यूले नै वार्ताको नेतृत्व गर्नुहुनेछ ।’ सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । ‘नवनियुक्त मन्त्रीज्यूले बोलाउनु भएको छ । एकछिनमा हामी मन्त्रालयमा जान्छौं,’ महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
तर उनले यसलाई वार्ता भन्न चाहिनन् । नवनियुक्त मन्त्रीले बोलाएकाले जान लागेको उनको तर्क छ । आजै शिक्षा मन्त्री पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह पनि गरेका थिए ।
संसद भवन परिसमा पत्रकारसँग उनले कानुन र बजेटले भ्याउनेसम्मको माग पूरा गर्ने बताएका छन् । ‘सरकार वार्ता र संवादको माध्यमबाट अहिले देखिएको समस्या समाधान गर्न प्रतिबद्ध छ ।
शिक्षक साथीहरूलाई लचिलो भएर आउन आग्रह गर्दछु,’ उनले भने, ‘ऐन कानुनको सिमा र बजेटले धान्ने सिमाभित्र रहेर समाधान खोज्न तयार छौँ ।’ यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो ।