ट्राफिक प्रहरीले सर्वसाधारण कुटेको अर्को भिडियो एक वर्ष पुरानो

काठमाण्डु टुडे २०८२ वैशाख १२ गते १५:२० मा प्रकाशित

काठमाण्डू, १२ वैशाख– पछिल्ला केहि दिन यता सामाजिक सञ्जालमा लगातार ट्राफिक प्रहरीले सर्वसाधारणलाई कुटपिट गरेको दुईवटा भिडियो सार्वजनिक भएका छन । दुवै भिडियो पुराना भएको पुष्टि भएको छ ।

बिहीबार बिहानैबाट सामाजिक सञ्जालमा छरपस्ट भएको सुन्धाराको पुल नजिकैको भिडियोमा देखिएका चार जना ट्राफिक प्रहरी कारबाहीमा परिसकेका छन् ।

शुक्रबार बिहानैबाट अर्का एक जना ट्राफिक प्रहरीले पनि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । उक्त भिडियो पनि एक वर्ष पुरानो रहेको पाइएको छ ।

ट्राफिक प्रहरी प्रभाग सोह्रखुट्टेमा रहेका सहायक हवल्दारबाट कुटेको उक्त भिडियो सार्वजनिक भएको पाइएको हो । ती ट्राफिक प्रहरी ०८० चैतमै त्यहाँबाट सरुवा भएर उपत्यका बाहिरको जिल्लामा गइसकेका छन् ।

किन कुटपिट भइरहेको भन्ने विषयमा अनुसन्धान भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले जानकारी दिएका छन ।

ट्राफिक प्रहरीले किन भागेको भन्दै एक युवालाई लेखेट्दै समातेर कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यो घटनामा संलग्न ट्राफिक प्रहरीहरुमाथि छानबिन भइरहेका बेला अर्को घटना पनि सार्वजनिक भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us