
काठमाण्डू, १३ वैशाख– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले काठमाण्डू कांग्रेसका पूर्वसभापति तीर्थराम डङ्गोलको निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् ।
नेता डङ्गोलको निधनमा आज शोक वक्तव्य जारी गर्दै उनले भनेका छन्, ‘नेपाली कांग्रेस काठमाण्डूका पूर्वसभापति, पूर्वस्वास्थ्य राज्यमन्त्री, मुलुकको लोकतान्त्रिक आन्दोलनका योद्धा डङ्गोलको निधनको खबरले मलाई अत्यन्त दुखित बनाएको छ ।
उहाँले कांग्रेसको सङ्गठन निर्माण र देशको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका पार्टीले विर्सने छैन ।’ सभापति देउवाले शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् । नेता डङ्गोलको शुक्रबार राति ७७ वर्षको उमेरमा निधन भएको हो ।