
काठमाण्डू, १३ वैशाख– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गलत कुराको तत्काल प्रतिवाद गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन ।
आज (शनिबार) बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना सांसदहरुलाई यस्तो निर्देशन दिएका हुन । साथै प्रधानमन्त्री ओलीले बजेट अधिवेशनमा पार्टीका सांसदहरूलाई प्रभावकारी प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन । साथै उनले देशप्रति जसको निष्ठा छैन तिनको असली मुकुण्डो उतार्न पनि सांसदहरूलाई सुझाव दिएका छन ।
प्रधानमन्त्री ओलीले भने, ‘देशप्रति जसको निष्ठा छैन तिनको मुकुण्डो उतार्नुपर्दछ, ‘आज बोलेका गलत कुराको आजै प्रतिवाद हुनुपर्दछ ।’ उनले देशभक्तिको भावनालाई उजागर गर्न र जनतालाई जनतालाई जागरूक बनाउने काम गर्नुपर्ने पनि बताएका छन । उनले भने, ‘बोल्नका लागि बोल्ने होइन, अर्थपूर्ण बोल्नुपर्छ ।
निरर्थक, झुट, असभ्य अश्लील, जो केही पार्टीका नाममा र केही व्यक्तिहरूले संसदभित्र पनि बोल्ने गरेका छन्’, उनले भने, ‘त्यस्तो प्रवृत्ति हामी गर्दैनौ, बोल्दैनौ । मर्यादित सु–संस्कृत र सभ्य तरिकाले तथ्यमा आधारित साहसिक ढङ्गले प्रस्तुत हुन्छौ ।’
प्रधानमन्त्री ओलीले सत्यको उजागर गर्न र राष्ट्रियताको पक्षमा स्पष्ट अडानसहित उभिने काम गर्न सांसदहरूलाई निर्देशन दिँदै राष्ट्रलाई कमजोर पार्ने प्रवृत्तिको तीखो आलोचना गर्न सुझाव समेत दिएका छन ।