
काठमाण्डू, १३ वैशाख– पछिल्ला केहि दिन यता काठमाण्डूमा जारी शिक्षकहरूको प्रदर्शनका क्रममा एकजना शिक्षकमाथि शिक्षकहरुले नै कुटपिट गरेका छन । आज (शनिबार) दिउँसो काठमाण्डू महानगरपालिका–१० स्थित बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि शिक्षकले नै कुटपिट गरेका हुन् ।
आपसी मतभेदका कारण १५–२० जना शिक्षकले जोशीलाई कुटपिट गरेर घाइते बनाएको प्रहरीले जानकारी दिएको छ । जोशी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत माध्यमित विद्यालयमा अध्यापन गराउने शिक्षक हुन् । उनी पनि शिक्षक महासंघकै आन्दोलनमा सहभागी हुन पुगेको प्रहरीले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
उनलाई तत्कालै प्रहरीको टोलीले मिनभवनस्थित सिभिल अस्पताल पुर्याएको जिल्ला प्रहरी परिसर, काठमाण्डूका एसपी अपील राज बोहराले जानकारी दिएका छन । घाइते शिक्षक जोशी बोल्न सक्ने अवस्थामा छन् । उनको टाउकोमा टुटुल्को उठेको छ भने शरिरका विभिन्न भागमा चोटपटक लागेको पनि प्रहरीले जनाएको छ ।