
काठमाण्डू, १४ वैशाख– केहि दिन यता आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । काठमाण्डूको बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो ।
शिक्षकहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा तनाव बढेको हो । आक्रोशित भिडबाट प्रहरीमाथि ढुंगामुढा प्रहार भएको थियो । अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ ।
प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ । प्रत्यक्षदर्शी शिक्षक पूर्ण ब्लोनले प्रदर्शनमा घुसपैठ भएको दाबी गरे । ‘हामी आफ्नो माग राखेर आन्दोलन गरिरहेका थियौं । आन्दोलनमा घुसपैठ भएको हो ।
एउटा समूह घेरा तोड्न खोज्यो। त्यसपछि झडप भएको हो । पानीको फोहोरा प्रहार भयो ।’ उनले झडपमा केही शिक्षक घाइते पनि भएको पनि बताएका छन ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाण्डू केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।