
काठमाण्डू, १४ वैशाख– नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको दाबी गरेका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद सापकोटाले यस्तो बताएका हुन ।
सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएको उनले स्मरण गरे । तर, त्यसअनुसार काम गर्न नसकेको भनेर उनले आलोचना गरे । त्यसक्रममा माओवादी सांसद सापकोटाले सरकारले सुरु देखि नै नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुःख दिएको बताए ।
‘आएका दिनदेखि कुलमानजीलाई झम्टनुभयो । हुँदाहुँदा त्यसको पराकाष्ठा त अहिले आफ्नै मन्त्रीलाई समेत बर्खास्त गर्नुभयो’, सांसद सापकोटाले भने । सरकारको यस्तो व्यवहार बोल्न नपाइने निरंकुश प्रवृति रहेको भनेर आलोचना गरे । ‘बोल्न नपाइने निरकुशता जे छ तपाईंहरू सत्तारुढ दलहरूसँग । तपाईंहरू एक पछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, संविधान मिच्ने, जथाभावी गर्ने यो सबै कुराको हामीले ठीक छ भनिदिनुपर्ने ?’ सापकोटाको प्रश्न छ ।
माओवादी सांसद सापकोटाले यी प्रश्न गरिरहँदा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम)ले टेबुल ठोकिरहेका थिए । सांसद् तामाङ हालै बर्खास्तीमा परेका निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री हुन् । माओवादी सांसद सापकोटाले सरकारले आफैंले गरेको प्रतिबद्धता अनुसार काम गरे प्रश्न गर्नेहरू स्वतः कम भएर जाने सुझाए ।
‘तपाईंहरु खुरु खुरु संविधान संशोधन गर्ने, राष्ट्रलाई अरु डेलिभरी दिन्छौं भनेर आउनुभएको हो नि !’ सापकोटाले अगाडि प्रश्न गरे, ‘भटाभट हाम्रो मुखमा बिर्को लाग्नेगरी काम गर्नुस् न के ले रोकेको छ तपाईंहरूलाई ?’
प्रतिपक्षको काम नै गलत हुन लागे खबरदारी गर्ने रहेको उनले बताए । प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्दा अनावश्यक प्रश्न गरेर पन्छिने प्रयास नगर्न उनले आग्रह गरे ।माओवादी सांसद सापकोटा भन्दा अगाडि बोलेका एमालेका सांसद पदम गिरीले शिक्षकको आन्दोलन उक्साउन प्रतिपक्षीले भूमिका खेलेको आरोप लगाएका थिए ।