
काठमाण्डू, १४ वैशाख– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले वर्तमान सत्ता गठबन्धन नढलोस् भन्ने आफूहरूको चाहना रहेको बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद झाले यस्तो बताएका हुन ।
उनले सरकारमा रहेका सत्ता गठबन्धनले गरेका गलत कार्य कतिसम्म जान्छ हेर्नका लागि समेत नढलोस् भन्ने चाहना रहेको बताएका हुन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘तर, सत्ता गठबन्धन ढल्न हुँदैन । गठबन्धनले यसरी नै काम गरिरहनुपर्दछ भन्ने हाम्रो कामना छ । किनभने, अझै धेरै हामीले देख्न बाँकी छ ।
हामी देख्न चाहन्छौं, कि कतिसम्म गिर्दो रहेछ । गिर्ने स्थान कति बाँकी रहेछ । त्यो देख्न चाहन्छौं । त्यसैले गर्दा पनि यो गठबन्धन नढलोस्, टिकिरहोस् भन्ने हाम्रो कामना छ ।’ वर्तमान सरकार बनाउने गरी नेपाली कांग्रेस र नेकपा एमालेबीच गत १७ असारमा ७ बुँदे सहमति भएको थियो । उक्त सहमतिको आधारमा तत्कालीन सत्ता गठबन्धन बदलिएपछि ३० असारमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
सांसद झाले वर्तमान सरकार बन्दा दुई ठूला दल बीच भएको ७ बुँदे सहमतिको कार्यान्वयनको विषय पनि उठाए । उक्त सहमति सत्तारुढ दलले नै बिर्सिएको उनले आरोप लगाए । सरकारले आफ्नो आयुको भन्दा उपलब्धिको चर्चा गरे हुन्थ्यो भन्ने चाहना समेत आफूहरूको रहेको उनले बताए ।
विश्व अर्थतन्त्र, चीन र अमेरिकाबीच अर्थतन्त्रलाई लिएर चलिरहेको रस्साकस्सी, पाकिस्तान र भारतबीच रहेको सम्भावित युद्धलाई ख्याल गरेर नेपालले आफ्नो अर्थ नीति ख्याल गर्नुपर्ने उनको आग्रह छ । तर, सरकार चुरोट र रक्सीको लाइसेन्स कतिमा बेच्ने भनेर लागिरहेको सांसद झाले आरोप लगाए ।