ललितपुरमा सुधारगृहमा राखिएका व्यक्तिको मृत्यु, तीन जना पक्राउ

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १३:४२ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– ललितपुरको बाँडेगाउँमा रहेको एक सुधार गृहमा राखिएका व्यक्तिको मृत्यु भएपछि प्रहरीले तीन जनालाई पक्राउ गरि अनुसन्धान कार्य सुरु गरेको छ ।

सिन्धुपाल्चोक स्थायी घर भएका दावा घिसिङको मृत्यु भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।

उनले भने, ‘शनिबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएको रहेछ, अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।’ परिवारले उनको मृत्युप्रति शंका गर्दै प्रहरीलाई खबर गरेपछि ललितपुर प्रहरीको टोली अनुसन्धानमा खटिएको थियो ।

त्यसक्रममा राति मोटरसाइकलमा नमस्ते अस्पताल लैजाने दुई जना र सुधार गृहका एक सञ्चालक गरी ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

एसएसपी अधिकारी भन्छन्, ‘घटनाबारे बुझ्नलाई ल्याएका हौं, सोधपुछ भइरहेको छ ।’ पोष्टमार्टम रिपोर्ट आएपछि घिसिङको मृत्युबारे निर्क्यौल हुने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us