काठमाण्डूमा असिनापानी

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १४:१३ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– देशको संघीय राजधानी काठमाण्डूमा हल्का असिनापानी परेको छ । केहीबेरअघिदेखि बानेश्वर, बबरमहल लगायतका क्षेत्रमा पानीसँगै हल्का असिना पनि परेको हो ।

पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभावका कारण काठमाण्डू उपत्यका लगायतका धेरै ठाउँमा पानी परिरहेको मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभाव केही दिन कायम रहने सम्भावना छ ।

बादल लाग्ने र पानी पर्ने हुनाले तापक्रम केही घट्ने पूर्वानुमान छ । तापक्रम घट्दा गर्मीबाट केही राहत मिल्ने मौसमविद बताउँछन् । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखरेलका अनुसार आज अपराह्नदेखि मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उनका अनुसार वर्षाका कारण सोमबारदेखि तापक्रम घट्ने छ । र, लगभग प्रत्येक दिनजसो वर्षाको सम्भावना रहेको छ । यसले गर्दा गर्मी पनि कम हुँदै जाने उनले जानकारी दिए । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाण्डू उपत्यका र काभ्रेमा हल्का पानी परिरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us