
काठमाण्डू, १४ वैशाख– अर्घाखाँची मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जाको वालिङ नगरपालिका–८ का ६० वर्षीय डम्बर बहादुर खत्री रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार अर्घा मन्दिरबाट सन्धिखर्कतर्फ आउँदै गरेको लु ६० प ९७८५ नम्बरको मोटरसाइकल सन्धिखर्क नगरपालिका–१० मा दुर्घटना हुँदा खत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
मोटरसाइकलको पछाडि सबार अर्घाखाँचीको मालारानी गाउँपालिका–५ बागी बस्ने २६ वर्षीय सुनिता खड्का घाइते भएकी छन्। उनको हात, खुट्टा र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची लगिएकोमा चिकित्सकले चालक खत्रीलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मोटरसाइकल अनियन्त्रित भई करिब २५ मिटर तल खसेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरीएको पनि प्रहरीले जनाएको छ ।