कैलाली सरकारी वकिलको कार्यालयबाट थुनुवा महिला हतकडीसहित फरार

काठमाण्डु टुडे २०८२ वैशाख १४ गते १८:११ मा प्रकाशित

काठमाण्डू, १४ वैशाख– जिल्ला सरकारी वकिलको कार्यालयबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन । इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दामा पक्राउ गरेर म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाइएको बेला ५० वर्षकी मिना शाही दमाई हतकडीसहित फरार भएकी प्रहरीले जानकारी दिएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले म्याद थपका लागि सरकारी वकिल कार्यालय पुगाएको थियो । महिला दिउँसो सवा २ बजे नै हतकडीसहित भागेको भएपनि दुई बजेर ४० मिनेटमा मात्र सम्बन्धित टोलीले माथिल्लो निकायमा रिपोर्ट गरेको थियो ।

दमाईको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us