आज यी स्थानमा चट्याङसहित वर्षा हुने

काठमाण्डु टुडे २०८२ वैशाख १५ गते ८:२९ मा प्रकाशित

काठमाण्डू, १५ वैशाख– देशमा सक्रिय मौसमी प्रणालीका कारण सोमबार विशेष गरी पूर्वी भागमा उल्लेखनीय वर्षा हुने पूर्वानुमान गरिएको छ ।
जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ ।जसले मौसममा व्यापक परिवर्तन ल्याएको छ ।

विभागका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू९भागमा समेत छिटफुट रूपमा वर्षा हुनसक्ने जनाइएको छ ।
त्यस्तै, हिमाली क्षेत्रमा पनि मौसम परिवर्तनको असर देखिनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च भू–भागहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकीका केही भू–भागहरूमा चट्याङसहितको हल्का वर्षा हुने सम्भावना यथावत् रहनेछ भने अन्य पहाडी क्षेत्रहरूमा पनि आंशिक वर्षाको संकेत देखिएको छ ।

यसबीच, मौसमविद् विनोद पोखरेलले पूर्वी नेपालमा आगामी दिनहरूमा झन् सक्रिय वर्षा हुने संकेत दिएका छन् । उनका अनुसार, देशभरको मौसम प्रणाली क्रमशः सक्रिय बन्दै गइरहेको छ र आगामी केही दिनमा धेरै स्थानहरूमा वर्षाको गतिविधि देखिन सक्छ ।

कृषि, यातायात र दैनन्दिन गतिविधिहरूमा मौसमले प्रभाव पार्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सर्वसाधारणलाई सुझाव दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us