
काठमाण्डू, १५ वैशाख– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कायममुकाय गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई नयाँ गभर्नर नियुक्तिको प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेका छन ।
हिजो (आइतबार) कायममुकायम गभर्नर तिम्सिना सँग भएको भेटवार्ताको क्रममा अर्थमन्त्री पौडेलले यस्तो आग्रहर गरेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
अर्थमन्त्री पौडेलको सचिवालय स्रोतले भन्यो, ‘आइतबार कायममुकायम गभर्नर तिम्सिना सँग भएको भेटमा अर्थमन्त्री पौडेलले स्पष्ट रुपमा कार्यकारी निर्देशक डा.गुणाकर भट्टको राजीनामा स्वीकृत गरेर नयाँ गभर्नर नियुक्तिको प्रक्रियामा सहजीकरण गर्न आग्रह गर्नू भएको छ ।’ कामु गभर्नर तिम्सिनासँगको भेटमा वित्तीय क्षेत्रको अवस्था लगायत बिषयका पनि छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जानकारी दिएको छ ।
वर्तमान सत्ता घटक दुई ठुला दल कांग्रेस सभापति शेरबाहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबीच डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने सहमति गत साता नै भईसकेको छ । ओली–देउवाको यो सहमतिपछि अर्थमन्त्री पौडेलले भट्टलाई डाकेर राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरेका थिए । अर्थमन्त्री पौडेलको आग्रहपछि भट्टले गत ५ वैशाखमा कामु गभर्नर तिम्सिनालाई राजीनामा बुझाएका थिए ।
उनको राजीनामा आइतबार सम्म स्वीकृत भएको छैन । डा.भट्टको राजीनामा स्वीकृत नभएपछि अर्थमन्त्री पौडेलले कामु गर्भनर तिम्सिनालाई भटेर राजीनामा स्वीकृत गर्न आग्रह गरेको अर्थमन्त्री पौडेको सचिवालय स्रोतले जानकारी दियो ।