
काठमाण्डू, १५ वैशाख– एमालेकी पूर्व सांसद गंगा चौधरीले मदन भण्डारीको हत्या भएसँगै त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद (जबज) बगेको आरोप लगाएकी छन ।
आज सोमबार (राप्रपा) नेपालले काठमाण्डूको शान्तिबाटिकामा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो आरोप लगाएकी हुन । चौधरीले शिवसेना नेपालको तर्फबाट सो सभालाई सम्बोधन गरेकी थिइन् । उनी एमाले परित्याग गरेर शिवसेना नेपाल अभियानमा संलग्न भएकी थिइन् ।
पछिल्लो समय उनी राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिमा सक्रिय भएकी छिन् । सोही क्रममा सोमबार भृकुटिमण्डपमा आयोजना भएको सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘एमाले पार्टीभित्र जब मदन भण्डारीको हत्या भयो, त्यतिखेर त्रिशूली नदीमा जनताको बहुदलीय जनवाद बगिसकेको छ ।’
उनले सम्बोधनको क्रममा प्रहरी परिवारकै भएका कारण माओवादी जनयुद्धको बेलामा आफ्नो ससुराले ज्यान गुमाएको भन्दै उक्त घटना बिर्सन नसक्ने बताइन् । ‘म भन्न चाहन्छु, म एउटा प्रहरी परिवारकै भएका कारणले मेरो ससुरालाई माओवादीले तीन टुक्रा पारेर मारे ।
म यो बिर्सन सक्छु,’ उनले भनिन्, ‘के म यो बिर्सन सक्छु ? त्यसकारण अब राजसंस्था पुनरस्थापना नभइ राष्ट्रको भलो हुँदैन । देश जोगिँदैन ।’ देश जोगाउने हो भने सबैले स्वार्थ छाडेर राष्ट्रको झण्डामुनि उभिनुपर्ने उनको तर्क थियो ।