
काठमाण्डू, १५ वैशाख– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शिक्षक आन्दोलनमा आफूहरूलाई ताली र नारासहित स्वागत गरेको बताएका छन ।
सामाजिक सञ्जाल र मिडियामा शिक्षकहरूले आफूलाई खेदेको भन्ने समाचार आएपछि यसको खण्डन गर्दै उनले भ्रम फैलाउन खोजिएको उनले बताएका छन । आज सोमबार काठमाण्डूको बिजुली बजारमा २७ दिनदेखि आन्दोलनरत शिक्षकहरूसँग ऐक्यबद्धता जनाउन पुगेका नेपालले शिक्षकहरूको जायज माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।
उनले भने, ‘शिक्षकहरूले हामीलाई भव्य स्वागत गरे। ताली बजाएर, नारा लगाएर हौसला प्रदान गरे, ‘सामाजिक सञ्जाल र मिडियामा आए जस्तो शिक्षकहरूले हामीलाई खेदेका होइनन्, ताली बजाएर स्वागत गरेका हुन्।’
नेपालले शिक्षकहरूको मागप्रति आफ्नो पार्टीको पूर्ण समर्थन रहेको उल्लेख गर्दै सरकारले यथाशीघ्र समाधान खोज्नुपर्ने उनको भनाइ थियो। उनले आन्दोलनप्रति एक्यबद्धता जनाउन आफूहरू बिजुली बजार पुगेको पनि बताएका छन ।