
काठमाण्डू, १६ वैशाख– चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि व्यक्त गरेका छन उनले आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने चेतावनी समेत दिएका छन ।
आज (मंगलबार) एक प्रेस विज्ञप्ति जारी गर्दै डा.केसीले सरकारले एमबीबीएसको सिट एक सयबाट बढाउने प्रक्रिया अघि बढाउनु गलत भएको पनि बताएका छन । डा. केसी द्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘एमबीबीएस सिट हालको संख्या भन्दा बढाउन मिल्दैन । निजी मेडिकल कलेजबाट श्रम शोषणमा परेका पीडित रेजिडेन्ट डाक्टरको माग सम्बोधन साथै विगतमा भएका सम्झौता तुरुन्त कार्यान्वयन होस् ।’
हाल एमबीबीएस पढाउन मेडिकल कलेजले एक सय सिट पाउँदै आएका छन् । आयोगको १८ औं बैठकमा शुल्क र सिट परिमार्जनका लागि शिक्षासचिव डा. दीपक काफ्लेको संयोजकत्व ११ सदस्यीय कार्यदल गठन भएको थियो । सिटका विषयमा भने शिक्षासचिव डा. काफ्लेको संयोजकको कार्यदलले हाल कायम रहेको एक सय सिटको सिलिङ हटाउँदै थप गर्न सकिने सुझाव दिएको छ ।
कार्यदलले दिएको सुझावका आधारमा अब एमबीबीएस र बीडीएसको सिट संख्या बढ्ने बाटो पनि खुला भएको छ । डा. केसी म्यानमारका भूकम्पपीडितहरूको सेवा गरेर नेपाल फकिँदैछन् ।
पटकपटकको दबाबमा चिकित्सा शिक्षा ऐन लागू भएसँगै चिकित्सा शिक्षा आयोग गठन भएको उनले बताएका छन् । प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेतारनेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम भइरहेको उनको भनाइ छ ।