
काठमाण्डू, १६ वैशाख– प्रहरीले र्सागुम्बाको व्यापार व्यवसाय गर्ने भन्दै प्रलोभनमा पारेर ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जाजरकोटको नलगाँड नगरपालिका–७ दल्ली घर भएका ४१ वर्षीय दीपेन्द्र सिंह रहेको प्रहरीले जानकारी दिएको छ ।
उनलाई काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलको एक दोहोरी साँझबाट पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिसँग सम्पर्क गर्ने र आफू अमेरिकबाट फर्केको पूर्वप्रहरी बताउने गरेका खुलेको प्रहरीले जानकारी दिएको छ ।
नेपालमा अहिले यार्सागुम्बाको व्यापार गर्ने गरेको त्यसमा लगानी गरे फाइदा हुन्छ भन्दै उनले रकम लिएर ठगी गरेको अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिएका छन ।
उनले ३६ लाख २ हजार १६६ रुपैयाँ ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाख बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ ।
प्रहरीमा भर्ती गराइदिने भन्दै १० लाख ठगी गरेको आरोपमा बाँके प्रहरीमा पनि अर्को मुद्दा दायर छ । सेनामा भर्ती गराउने भन्दै ४ लाख ठगी गरेको अर्को मुद्दा इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेको एसपी जिसीले जानकारी दिएका छन ।
पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डू पठाइएको छ ।