
काठमाण्डु,मंसिर दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधनप्रति दुख व्यक्त गर्दै नेपाल सरकारले तीन दिन सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ । सरकारले आइतवारदेखि मंगलबारसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको शनिवार साँझ बालुवाटारमा बसेको बैठकले परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेको नेतृत्वमा एक प्रतिनिधि मण्डल जोहानेसवर्ग पठाउने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले जानकारी दिए । शोकसभा जोहानेसवर्गमा मंगलवार हुँदैछ ।
सरकारले स्वतन्त्रता, समानता तथा लोकन्त्रका अथक योद्धा, शान्ति, न्याय र साहसका प्रतिक मण्डेलाको निधनमा शोक व्यक्त गर्दै स्वर्गीय मण्डेलाको दिवङ्गत आत्माको चीर शान्तिको कामना गरेको छ ।
मण्डेलको अन्त्येष्टिका लागि दशदिने कार्यक्रम सार्वजनिक
रङ्गभेद विरोधी आन्दोलनका एक प्रमुख अग्रणी दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको अन्त्येष्टिका लागि दश दिनको कार्यक्रम सार्वजनिक गरिएको समाचार छ ।
दक्षिण अफ्रिकाको सरकारले उनको अन्त्येष्टिका लागि शुक्रबारदेखि दश दिनसम्म श्रद्धाञ्जलीका लागि राख्ने निर्णय गरेको हो । उक्त समयसम्मका लागि त्यहाँ शोकको घोषणा गरिएको छ ।
सो कार्यक्रम सरकारले शनिबार मात्र तय गरेको हो । यस कार्यक्रमपछि विश्वका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुका साथै नेताहरुको ध्यानाकर्षण हुने भएको छ ।
सो समारोहमा विश्वका कयौँ नेताको सहभागिता हुने अपेक्षा गरिएको छ । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपतिसमेत रहनु भएका नेता मण्डेलको ९५ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।
आजसम्म विश्वका नेताहरुले आ आफ्नै देशबाट शोक वक्तव्य प्रकाशन गरी उनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनीहरुले मण्डेलालाई विश्वकै एक प्रेरणादायी नेताका रुपमा प्रसंसा गरिरहेका छन् ।
उनको अन्त्येष्टि आगामी डिसेम्बर १५ मा गरिने भएको छ । त्यसअघि सम्म उनको पार्थिव शरीरलाई हालको उनको निवासमा राखिने छ ।
त्यस्तै उनको अन्त्येष्टि गर्नुभन्दा तीन दिनअघिदेखि शवलाई उनको बाल्यकालको घर क्युनुमा राखिने पनि बताइएको छ ।
उक्त क्युनु सहरका नागरिकले उनीप्रति आफ्नै निवासमा श्रद्धाञ्जली दिन पाउनुपर्ने माग गरेपछि सरकारले उक्त सहरमा तीन दिनसम्म शव राख्ने जनाएको हो ।
उनलाई दक्षिण अफ्रिकी नागरिकले मादिबा नामले सम्बोधन गर्छन । उक्त शब्दको अर्थ हजुरबुबा वा मान्यजन भन्ने हो । मादिका नाममा शुक्रबारदेखि नै देशभरी उनीप्रति भव्य रुपमा श्रद्धाञ्जली अर्पण गरिएका छन् ।
दक्षिण अफ्रिकी सहर केप टाउनमा उनी प्रति लाखौँ लाख नागरिकले भजन गाएर उनको चिर शान्तिको कामना गरिरहेका छन् ।
उनले करिब तीन दशकको जेलजीवनबाट मुक्त भएपछिको पहिलो सम्बोधन सोही सहरमा गरेका थिए ।
उनी विश्वमा रहेका अस्वेत जातिका नागरिकका लागि मात्र नभई प्रजातान्त्रिक आन्दोलनकै अग्रणी थिए । उनले दक्षिण अफ्रिकामा प्रजातन्त्र र अस्वेत नागरिकको अधिकार स्थापना गर्न कम्तीमा पनि २७ वर्षसम्म जेल बसेका थिए ।
शान्तिका लागि नोवेल पुरस्कार समेत प्राप्त गरेका मण्डेला दक्षिण अफ्रिकाका पहिलो काला जातिका राष्ट्रपति बने । तर सत्तामा पुगेपछि उनले काला र गोरा जातीलाई बराबर सम्मान र माया गरे ।
उनको अन्त्येष्टिका लागि को को नेताहरु उपस्थित हुनेछन् भन्ने बारेमा अझै केही स्पष्ट भएको छैन । तर दक्षिण अफ्रिकी सरकारले भने ठूलो सङ्ख्याका नेताहरुको सहभागिताको अनुमानमा उनीहरुको स्वागत र विदाईको तयारी गरिरहेको जनाएको छ ।
अहिले भने उनीप्रति देश भित्र र बाहिर विश्वभरि नै दशौँ लाख नागरिकले स्वतस्फुर्त रुपमा श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । एएफपी