
काठमाण्डु, २४ मंसिर–दिवंगत नेता नेल्सन मण्डेलाको अन्त्यष्टिमा विश्वभरिका ६० देशका राष्ट्र प्रमुखहरु सहभागी हुने भएका छन् । मण्डेलाको अन्त्यष्टि मंगलबार हुने छ ।
दक्षिण अफ्रिकी सरकारद्वारा जारी प्रेस विज्ञप्तिमा दिवंगत नेताको अन्त्येष्टिकालागि विश्वभरिका ६० देशका राष्ट्र प्रमुख अथवा सरकार प्रमुखहरुले सहभागिताको पुष्टि गरिसकेको जनाईएको छ । अमेरिकी राष्ट्रपति बराक ओबामा, फ्रान्सका राष्ट्रपति फ्रान्सियोस ओलान र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन लगायतका नेताहरु मण्डेलाको अन्त्यष्टिमा सामेल हुने भएका छन् ।
त्यसै गरि संयुक्त राष्ट्र संघका महासचिव वान की मुन, जर्मनीका राष्ट्रपति ज्याओचिम गौक, युरोपियन कमिशनका अध्यक्ष जोजे म्यानुअल बोरोसो, डेनमार्क नरेश विलेम अलेक्जेण्डर तथा स्पेनका युवराज फिलिपले पनि मण्डेलालाई अन्तिम श्रद्धान्जली दिन स्वेतो पुग्नेछन् । तीन पूर्व राष्ट्रपति जिमी कार्टर, जर्ज डब्ल्यु बुस र विल क्लिन्टन पनि अन्त्यष्टिमा सहभागी हुनेछन् ।
ब्राजीलकी राष्ट्रपति दिलमा रोसेफ, प्यालेस्टाईनका राष्ट्रपति माहम्मुद अब्बास र भारतीय राष्ट्रपति प्रणव मुखर्जी पनि अन्तिम श्रद्धान्जलीकालागि दक्षिण अफ्रिका पुग्ने नेताहरुमा सामेल हुनेछन् । नेपालको तर्फबाट गृह तथा परारष्ट्रमन्त्री माधव घिमिरे सहभागी हुनेछन् ।
चर्चित गायक पिटर ग्याब्रियल र बोनो पनि मण्डेलाको अन्त्येष्टिमा सामेल हुँदै छन् । स्वेतो रंगशालामा मण्डेलालाई अन्तिम श्राद्धान्जली दिन ९५ हजार आम नागरिक समेत उपस्थित हुनेछन् । आम नागरिकका बीचमा विश्वका अन्य चर्चित ब्यक्तित्वहरुले पनि मण्डेलाको अन्तिम विदाई गर्ने छन् । मण्डेलाको अन्तिम संस्कार कुनो गाउँमा गरिने छ । कुनोमा नै दिवंगत नेता मण्डेला हुर्किएका थिए ।