
काठमाण्डु, २८ मंसिर– श्रम तथा रोजगार मन्त्रालयले बिदेसिएका नेपालीसमेतको तथ्याङ्कबाट जनसङ्ख्याको अनुपातमा सबैभन्दा बढी मानिस आप्रवासनमा गएको मुलुकका रुपमा नेपाल रहेको जनाएको छ ।
मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले श्रम स्वीकृति नलिई विदेश गएका, भारतमा श्रमका लागि गएका, अमेरिका, युरोपलगायत महादेशमा अध्ययन, व्यापारव्यवसाय तथा स्थायी बसोवासका लागि बिदेसिएको भन्दै आप्रवासनमा गएका देशमा नेपाल अगाडि आउने बताएका हुन् ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१३ विविध कार्यक्रमका साथ साताव्यापी रुपमा मनाइने जानकारी दिँदै शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले दिवसका अवसरमा वृत्तचित्र, अन्तक्र्रिया, सामुदायिक जनचेतना, कला र तस्बिर प्रदर्शनी, रक्तदान, प्रभातफेरी, सडक नाटक, पुस्तक प्रकाशनलगायत कार्यक्रम काठमाण्डुलगायत विभिन्न जिल्लामा गरिने बताए ।
विश्व आप्रवासन दिवसको यस वर्षको राष्ट्रिय मूल नारा ‘सीप, सूचना र अभिमुखीकरण ः सुरक्षित र मर्यादित आप्रवासन’ तय गरिएको छ । आप्रवासन दिवस २०१३ मनाउनका लागि विभिन्न समिति र उपसमितिसमेत गठन गरिएको छ ।
नेपालमा प्रत्येक वर्ष चार लाख ५० हजारभन्दा बढी व्यक्ति श्रम बजारमा प्रवेश गर्ने गरेको बताइएको छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेमा प्रतिदिन करिब एक हजार ५०० को हाराहारीमा युवाको सङ्ख्या रहेकामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या गत कात्तिकसम्ममा ३० लाख २१ हजार ३०२ पुगेको मन्त्रालयले जनाएको छ । त्यसमा ९१ हजार ३०८ महिला कामदार छन् ।
नेपालमा सन् २००० देखि हरेक वर्ष डिसेम्बर १८ दिन दिनलाई विश्व आप्रवासन दिवसका रुपमा मनाइँदै आइरहेको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९० डिसेम्बर १८ का दिन आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरी लागु गरेको थियो ।